नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य

काठमाडाैं | कात्तिक १०, २०८०

नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य

काठमाडौं:     नेपालले त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनल खेलमा युएईलाई उपाधि जित्न १ सय ६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।


टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । नेपालका ओपनर कुशल भुर्तेल २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । उनको यो टि२० आई करिअरको छैटौं अर्धशतक हो । दोस्रो ओभरको दोस्रो बलमा ब्यक्तिगत पाँच रनमा जीवनदान पाएका उनले अर्धशतक प्रहार गरेका थिए ।


नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गरेका थिए ।


आयन खान तीन दिनअघि मलेसियामा नेपालसँग यू-१९ प्रिमियर कपको फाइनलमा युएईको कप्तानी गरेका थिए । पहिलो खेल खेलेका उनले पहिलो ओभरमै नेपालका ओपनर आसिफको विकेट लिएका थिए । आयनले सातौं ओभरको चौथो बलमा कुशल मल्ललाई एक रनमा बोल्ड आउट गरे ।


तीव्र गतिका बलर जहुर खानको आठौं ओभरको तेस्रो बलमा कुशल भुर्तेल बोल्ड आउट भएका हुन् । १३ औं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेल प्याडल सर्ट खेल्ने धुनमा विकेटकिपर अर्यांश शर्माबाट क्याच आउट भए ।


रोहितले १७ बलमा १ चौकासहित १८ रन बनाए । तीन बलपछि दीपेन्द्रसिंह ऐरी २० रनमा बोल्ड आउट भए । दीपेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । इनस्वींग बल चाल पाउन नसक्दा दीपेन्द्र बोल्ड आउट भएका थिए ।


१३ औं ओभर युएई खेलमा फर्किने टर्निङ प्वान्ट बनेको थियो । नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । थप २४ बलमा नेपालले दीपेन्द्र र रोहितको विकेट गुमाउँदा मात्रै १९ रन जोडेको थियो । त्यसपछि पनि नेपालले लगातार विकेट गुमायो ।


जहुर खानको १६ औं ओभरको पहिलो बलमा चोभार एन्डमा लङअनमा सर्ट खेल्न खोजेका सन्दीप जोरा मिडअनमा मोहम्मद वासिमबाट १० रनमा क्याच आउट भए । आयनले सोमपाल कामीलाई १३ रनमा बोल्ड आउट गरे ।


तल्लोक्रममा करण केसी १७ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नट आउट रहे । अन्तिम ओभरमा जहुर खानले करणलाई लगातार पाँच बल डट राख्दा अन्तिम बलमा दुई रन दिएका थिए । अन्तिम ६० बलमा नेपालले ६७ रन बनाउँदा ५ विकेट गुमाएपछि विशाल योगफलमा पुग्न सकेको थिएन ।


युएईका आयन खानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । अली नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । जहुर खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जुनैद सिद्दिकले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्